उपचारमा १२ लाख सकियाे तर घाउ निकाे भएन

काठमाडाैंः ‘अस्पताल भनेको मन्दिर हो र डाक्टर भगवान हुन’ जाजरकोटका देवबहादुर ठकुरीलाई यस्तै लाग्थ्यो । तर उनीसँग भएको त्यो आस्था र विश्वास त्यतिबेला भंगभयो जतिबेला उनी राजधानीकै नाम चलेको नर्भिक इन्टरनेशनल अस्पतालमा बेडमा पुगे । जाजरकोटबाट सानो समस्या लिएर अन्तर्राष्ट्रियस्तरको भनिएको नर्भिक अस्पताल पुगेका ठकुरी अहिले अस्पतालको दोस्रो तलाको बेडनम्बर २३० मा जीवनरक्षाको आशामा लम्पसार परिरहेका छन् । बिरामले अत्यधिक च्यापेर होला त्यतिराम्रो बोल्न सक्दैनन । आँखा गडेका छन् ।

सानो भनिएको समस्याले १२ लाख रुपियाँ पनि सकियो खुट्टाको घाउ झन बल्झिदैछ । ‘पहिला ठीक हुन्छ किन भने अहिले अस्पतालबाट लखेट्न थाले’ गला अवरुद्ध गर्दै ठकुरीले भने, ‘नर्भिक अस्पताले मेरो सर्वस्व नै लुट्यो, अब के गरौ ? ’

घरबाट आउँदा ठमठम हिडेर काठमाडौं आइपुगेका ठकुरी नाम सुनेकै भरमा नर्भिक अस्पताल पुगेका थिए । घुडा सुन्निएको निको पार्न अस्पताल पुगेका ठकुरी अहिले ‘बाच्ने की मर्ने’ सूचना समेत पाउन सकिरहेका छैनन । सुरुमा चेकजाँचत गराउन उनलाई डाक्टरले ‘सामान्य अप्रेशन गरेर ठीक पारिदिने’ आश्वासन दिएका थिए ।


कार्तिक १५ गते अस्पतालमा भर्ना भएका ठकुरीलाई पुसको २२ गतेसम्म पनि निको हुन्छ नआत्तिनु भन्दै चिकित्सकले आश्वासन दिइरहेको थिए । दुखेको खुट्टा निको पार्ने र घर फर्किने प्रतिक्षा गर्दा गर्दै उनले अस्पतालमा नै झण्डै साढे २ महिना बिताइसकेका छन् । अहिले पनि प्रतिक्षा रोकिएको छैन ।

सर्खेतको औषधीपसलेको सल्लाह अनसुसार घुडा सुनिएर उपचार गर्न राजधानीसम्म आइपुगेका ठकुरीको देव्रे गोडामात्रै सुन्निएको थियो । देव्रे गोडाको उपचार गर्ने क्रममा चिकित्सकले दाइने खुट्टाको मासु काटेर देव्रे गोडामा हालेका थिए । उनको देब्रे गोडा त निको भएन नै अहिले मासु काटेको दायाँ गोडाको मासुपनि झर्न थालेको छ । सेतो कपडाले नदेखिने गरि बाँधेर राखिएको छ । निको हुन्छ चिन्ता नलिनु भनेको चिकित्सकले अहिले अस्पताल छाडेर जान निर्देशन दिइरहेको छन् । ठकुरीको उपचारमा चिकित्सक प्रविण नेपालले जिम्मा लिएका छन् ।

 

‘अस्तिसम्म डाक्टरले निको पार्छु भन्थे, अहिले तिनै डाक्टर निस्किएर जहाँ गए जानु, हामी हेर्न सक्दैनौ भन्न थालेका छन्’ लामो उपचारले गलेका ठकुरीले गला अवरुद्ध गर्दै भने, ‘निको होला भनेर गाउँदेखि राम्रो अस्पताल खोज्दै राजधानी आइयो अहिले त्यही अस्पतालले निस्किेर गइहाल भन्छ । पैसा पनि सकियो जाने ठाउँ पनि छैन अब म कहाँ जाऊ । ’
ठकुरीले सुन्निएको खुट्टा निको पार्न १२ लाख रुपियाँ खर्च गरिसकेको छन् ।

गाउँको शहकारीबाट १९ प्रतिशतका दरले ऋण निकाल्दै उपचार गरिरहेका ठकुरीको अब त त्यो बाटो पनि बन्द भएको छ । उनका नाममा हरेक दिन बेड चार्ज १६५० थपिने गरेको छ । डाक्टरको फिस अरु शुल्क जाडेर अस्पताले मात्रै हरेक दिन ३ हजारभन्दा बढी जोड्ने गरेको छ । औषधीको खर्च छुट्टै छ ।  दुखाइ कम गर्ने औषधी दिइएको छ । बेला–बेला सिस्टरले हेरबिचार गर्छन् । दुखाई कम भने भएको छैन । बेला–बेला ‘आइया–आत्थो’ गरिनै रहन्छन् । अनि ‘के भो’ भनेर सिस्टर पुग्छन् । औषधी खुवाउने समय सम्झाउँछन् । ब्लडप्रेसर जाँचेर फर्किन्छन् । पछिल्लो उपचार त्यतिमा सिमित भएको छ ।

अस्पताल प्रशासन भने उनलाई अस्पतालबाट बाहिर निकाल्ने खोजेको विषयमा बेखबर छ । नर्भिक अस्पतालका सहायक महाप्रबन्धक आरपी मैनालीले ठकुरीको अवस्थाका बारेमा प्रशासनले चासो राख्ने बताएका छन् । अहिले ठकुरीको घाउ पाक्दै गएपछि अरु बिरामीलाई समेत इन्फेक्सन हुने भन्दै चिकित्सकले बाहिर नै बसेर उपचार गराउन हप्कीदप्की गर्न थालेका छन् ।

सद्दे श्रीमानलाई अस्पताल ल्याएकी कुरुवा श्रीमति प्रतिमा सिंहका आँखा पनि ओभाएका छैनन । ‘हिजोसम्म श्रीमानको घाउँ पाक्दा मात्रै मन दुखिरहेको थियो आज डाक्टरको भनाई मुटुमा नै घोच्न थालेको छ’ श्रीमति सिंहले भनिन । सानो भनिएको समस्याले १२ लाख रुपियाँ पनि सकियो खुट्टाको घाउ झन बल्झिदैछ । ‘पहिला ठीक हुन्छ भने अहिले अस्पतालबाट लखेट्न थाले’ गला अवरुद्ध गर्दै ठकुरीले भने, ‘नर्भिक अस्पताले मेरो सर्वस्व नै लुट्यो, अब के गरौ ?’

समाचार प्रकाशन मितिः २०७३ पाैष २८ गते 

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top