एउटा सपनाको अन्त्य (संस्मरण)

pass photo– सुरेन्द्र सिंह
बारेकोटको घाटबजारबाट पाँच मिनेटको नाक जोगाएर हिड्नुपर्ने उकालो र दश मिनेटको गहुँ बारीका कान्लैकान्ला नाघेर उक्लेपछि बतास सँग जिस्किदै गरेका केराका पातहरु देखिन्छन् । तिनै केराका पातहरुलाई पछ्याएर कान्लै कान्ला माथिको साँघुरोबाटो हिडेर गयो भने आरु र नास्पतीका रुखहरुले पहिला स्वागत गर्छन् । र, त्यही नेर देखिन्छ, आँखी झ्याल सहित खरले छाएको बीरबहादुर शाहीको पुरानो घर ।

सेतो कमेरोले पोतिएको घरका बाहिरी भित्ता । घर भित्र पस्ने एउटा अल्ली ठुलो मुल ढोका । र, ठुलो ढोकाको सिरानमा पाँच कक्षामा पढ्ने भाइले बाँङ्गाटिङ्गा अक्षरमा कोरेको साढे चार अक्षरको शब्द, ‘स्वागतम’् । सानो आँगन, आँगनको डिलमा लहरै आरुका रुखहरु । आँरुका फूलका कोपिला जस्तै भाइबहिनी । अनि आरुकै रुख जस्ता शान्त बृद्ध बाआमा ।

माघ फागुनमा आरुले फुलाएका सुन्दर फुलहरु जस्तै ती एकजोर बृद्धबृद्धाले जन्माएका फुलहरु जिन्दगीको कुनै माघ फागुनमा परिपक्व भएर फक्रिने छन् । र, उनीहरुको जिन्दगीको वातावरणमा सुगन्ध छर्नेछन् । यस्तै आशामा बाँच्दै गर्दा उनीहरुलाई जीवनको थप उकालो चढ्ने ऊर्जा मिल्दो हो । दमले ग्रस्त भएकी आमा र ढाड दुख्ने समस्याबाट पीडित बालाई मिठो कल्पनाले राहत पनि हुदो हो ।
……………..
घुम्रिएको छोटो कपाल माथि जिब्रे टोपी । गहुँगोरो वर्ण । चेक सर्टमा जिन्स पाईन्ट । कहिलेकाँही एअर प्रुफ ज्याकेट पनि झुन्डिएको हुन्थ्यो, शरिरमा । एभरेज हाइट । हरपल केही न केही सोचीरहेको जस्तो आँखा र निधार । ओठमा मन्द मुस्कान । यही हो उसको गेटअप ।

उनी सिर्जनात्मक थिए । कविता र गजल लेख्थे । आफ्ना रचनाहरुमा आफ्नै जिन्दगीका दुःख र पीडाहरु बढी ओकल्थे । उनका रचनाहरु अलि बढी नै प्रगतिशिल हुन खोज्थे । नयाँ कविता र गजल लेख्ने वित्तिकै रात विताउन मैसँग आउथे । र, मेरो डेराको साँघुरो कोठा भित्र अटाएका दराज, पुस्तक, कपडा र मलाई श्रोता बनाएर सुनाउथे ।

यस्तै हेलमेल सँगै हाम्रो आत्मीयताको ग्राफिक्स एकाएक बृद्धि भएको थियो । म पनि साहित्यमा रुचि राख्थे । जाजरकोटमा बसेर हामी दुबै जना पत्रकारिता र साहित्यमा केही गरौं भन्ने सोचबाट प्रेरित थियौं । दुबै जना मिलेर ०६८ साल तिर साहित्यीक पत्रिका पनि प्रकाशन भयो, सिलसिला । तर, आर्थिक समस्याका कारण निरन्तरता पाउन सकेन । खाने गाँस कटाएर पत्रिकालाई बचाउन पनि सकिएन ।

उनी प्रेस चौतारीमा आबद्ध थिए । म भने प्रेस यूनियनमा । तर, हामी बीच आस्था र विचारका कारण कहिल्यै मतभेद भएन । मतभेद हुन्थ्यो भने साहित्यमा । मलाई कथा र उपन्यास मनपथ्र्यो, उनलाई कविता र गजल । बस यही नै थियो हामी बिचको भिन्न बिचार ।

उनी विकासे कार्यकर्ताको रुपमा स्थानीय विकास कोषमा कार्यरत थिए । म खानेपानीमा करारको जागिर गर्न थालेको थिए । जाजरकोटमा सरसफाईको अभियान शुरु भएसँगै हामी सँगसँगै रह्यौं । उनी भन्थे, हामीले जागिरका लागि जागिरी होईन, समाज परिवर्तन र रुपान्तरणका लागि केही गर्नुपर्छ । त्यति हुदा हुदै कहिलेकाँही उनी बर्बराउथें– समाज परिवर्तनको ठेक्का हाम्रो मात्रै होइन । उनको भनाईको प्रतिक्रिया ओठको एउटा कुनाबाट मुस्कान चुहाएर दिन्थें, म ।

समाज र देशको बारेमा चिन्ता र चिन्तन गर्ने गरे पनि उनको जिन्दगी भोगाईको अनुभूति भने अलग्गै थियो । आफूले बाँचेको जिन्दगीको सवालमा उनी निकै नै ‘साइको’ बन्थे, कहिलेकाँही । हरिभक्त कटुवालले ‘यो जिन्दगी खै के जिन्दगी ?’ शायद मेरै लागि लेखेका हुन् की भन्ने उनलाई लागिरहन्थ्यो । प्रायः यो कविता उनको ओठमै झुन्डेको हुन्थ्यो ।

उनको कुनै ठुलो सपना पनि थिएन । आम जाजरकोटीले झैं देख्ने औषत सपना उनको पनि सपना थियो । बाआमा र भाइबहिनीका लागि वर्षमा एक जोर नयाँ लुगा फेरिदिने अनि भाईबहिनीलाई सरकारी स्कुलमै धेरै कक्षा सम्म पढाउने र पुरानो घरलाई भत्काएर ठुला झ्याल भएका चार कोठे घर निर्माण गर्ने । जहाँ बाआमा, भाइबहिनी र पाहुना आउदा अलग अलग सुताउन पाईयोस् । अनि फराकिलो आँगन, जहाँ पाहुनाहरु आउँदा काम्लोमा बसुन्, गाउँका दाजुभाई आउन्, मान्द्रोमा बसेर दुःख सुख गरुन् । बस् ।

‘जागिर गरेको पैसाले खलंगा बस्न ठिक्क हुनेभो ।’ कुनै दिन ठाँटी बजारको चिया पसलमा उनले आफ्नो अवस्था सुनाएका थिए । ‘ऋण नगरी घर शुरुवात गर्न नसकिएला जस्तो छ ।’

पछिल्लो समय जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियान तीब्र हुदै थियो । डि–वासको सचिवालय खानेपानी कार्यालय नै हुने हुदा म अल्ली व्यस्त हुन्थे । उनी पनि बारेकोटका केही गाविसमा यही अभियानमा जुटेका थिए । फोन मार्फत कुरा हुन्थ्यो । तर प्रत्यक्ष भेट पातलिएको थियो । जिल्लाका ३० वटा गाउँ विकास समितिहरु खुल्ला दिसा मुक्त घोषणा भएर सकिए । ७१ सालमा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरियो, ठुलै उत्सवका बीच । सभासद, ठुलठुला विकासका साझेदारहरु, सरकारी निकायका क्षेत्रिय र विभागिय प्रमुखहरुको उपस्थिति थियो ।

कार्यक्रमको औपचारिक समापनमा अभियानलाई सहयोग गर्ने पत्रकार, अभियन्ता, कार्यालय, लगायत थुप्रै व्यक्तिले प्रशंसा, सम्मान र कदर पत्र पाए । नपाए पनि हुने धेरै जनाले प्रशंसा र सम्मान पाएको दृश्य मैले क्यामेरामा कैद गरिरहें । तर, उनको नाम नै उच्चारण भएन । बीरबहादुर शाहीको नाम छुटेकोमा मलाई ठुलो ‘अन्याय’ लागेको थियो ।

त्यो दिन नुन कम भएको तरकारी जस्तै कार्यक्रम खल्लो लागिरह्यो । सरसफाईको अभियानमा उनी पत्रकार कम र अभियन्ता बढी थिए । उनले बारेकोटका धेरै जसो गाउँमा सरससफाईको अभियानमा नेतृत्वदायी भूमिका गरेका थिए ।

भोली पल्ट उनीसँगको भेटमा मन अमिलो पार्दै मैले भने, ‘तपाईले गरेको कामको उचित सम्मान गरिएन, मलाई साहै« दुःख लाग्यो ।’

साविककै मन्द मुस्कानका साथ मलाई सोधें, ‘प्रशंसा र सम्मान कुन आधारमा मुल्यांकन गरेर दिईएको रहेछ, तपाईलाई त थाहा होला नि ?’

‘खै, मलाई थाहा भएन । यसका लागि पनि उपसमिति बनेको थियो । त्यही उपसमितिले लिस्ट तयार गरेको हुनुपर्छ । तपाईको नाम छुट्यो कि छुटाईयो । मैले थाहा पाइन ।’

त्यसपछि हामी दुबै मौन रह्यौं । शायद उसलाई लाग्यो होला– सचिवालयमा काम गर्ने मान्छे मैले नै उसको नाम राखिन । मैले प्रयास गर्नुपथ्र्यो ।

हाम्रो अन्तिम भेट यही थियो ।

खलंगाको पश्चिममा देखिने छिप्रेनाको डाँडासँग जोडिएको क्षितिज माथि उक्लेको सूर्यका किरणका लालीहरु ‘डिसकलर’ हुदै गइरहेका थिए । प्रायः चिसो स्याठ चलिरहने जाजरकोटको माघ महिनाको धर्ती गोधुँली साँझ सँगै भर्खरै प्राण उडेको मानव शव जस्तै बिस्तारै चिसो हुदै थियो । हुनमान स्कुलको छेवैंमा रहेको बाँसको झ्याङ्ग भित्र चर्को स्वरमा एक हुल सिम्टाली आपसमा झगडा गर्दै थिए ।

म मेरा डेराको बार्दलीमा बसीरहेको थिएँ । नेपालगन्जमा अध्ययनरत एकजना बारेकोटको साथीले फोन मार्फत भन्यो ‘बीरबहादुरको रुखले किचिएर निधन भयो भन्ने खबर छ, तपाईले थाहा पाउनुभयो ?’
‘ठट्टा त गर्नु तर यस्तो अनावश्यक ठट्टा कहिल्यै नगर्नु यार ।’ मैले उसलाई झपार्दै भनें ।

उसको बानी नै त्यस्तै थियो । प्रायः ऊ मसँग जिस्किरहन्थ्यो । तर, यसपल्ट उसको बोलाईको लवज ठट्टा जस्तो थिएन ।

‘भगवान कस्सम ! हो रे ।’ उसले गम्भीर हुदै भन्यो ।

बाँसको झ्याङ्गमा भैरहेको सन्टालीहरुको विवाद मिलिसकेको थियो । धेरै टाढा चारोको खोजीमा गएका चरा आफ्नो गँुडलाई सम्झेर फर्के जस्तै मान्छेहरु घर फर्किरहेका थिए ।

थाप्ले स्थित मेरो डेरा । डेरा नजिकैको ट्वाल्ल परिरहेको हनुमान स्कुल । निकै शान्त थिए । बोहोराको उकालोमा कराउदै र कन्दै एउटा बस आइरहेको थियो । गाडीको झिलिक्क लाईटले हुनुमान स्कुलको टिन टल्कियो । दक्षिण तर्फ एकनासले बगीरहेको भेरी नदीको सुस्केरा कानमा गुन्जियो । गालामा छोएर एक झोका बतासले पछाडी हाम फाल्यो ।

मेरो कानमा कसैले सुस्तरी सोध्यो, ‘प्रशंसा र सम्मान कुन आधारमा मुल्यांकन गरेर दिईएको रहेछ, तपाईलाई त थाहा होला नि ?’

मन चिसो भयो । घाँटीमा भातको गाँस अड्के जस्तै किक्लिक्क भयो । ओठ थर्थराए । आँखाका परेलाहरु झिम्किए । घाँटी सम्म ‘कचिलो’ महसुस भयो ।
मन रोएछ । आँशु बगेछन् । पछि थाहा भयो ।
………………..
खलंगाको मुख्य बजार, ठाँटी बजार । धमिलो दिन थियो । गाउँबाट किनमेल गर्न आएकाहरुको घँुईचो थियो । म कुनै मोबाईल पसलमा छिरेको थिएँ । किन छिरें, थाहा थिएन । कसैले मेरो वास्ता पनि गरिरहेको थिएन ।

सेतो धर्के शर्ट, कालो पाईन्ट, अनि मधुर मुस्कान । गहिरो ताल जस्तै शान्त आँखा । ऊ यता उता हेर्दै मेरो नजिक आयो । आफ्नो मोबाईल खेलाउन थाल्यो, केही बोलेन ।

मेरो बेचैनी बढ्यो । आफ्नो नजिकैका सबैलाई नियालें । सबै अपरिचित थिए । काम ज्वरो आए जस्तै मेरो जिउ काम्यो ।

मोबाईल खेलाउदै ऊ मेरो छेवैंमा आयो । र, मोबाईल मेरो हातमा थमाउदै भन्यो– ‘राजा ‘टाइम’ मिलेन, मेरो मोबाईलको ‘टाइम’ मिलाईदिनु प¥यो ।’

ऊ त्यही बीरबहादुर थियो । जो अब यो वास्तविक संसारमा थिएन । तर, हरेकका सम्झनामा बाँचिरहेको थियो ।

साँघुरो डेरामा एक थान मेरो ज्यान पल्टिरहेको थियो । टुकीमाराको हलुका प्रकाश कोठाको एक कुनामा थुप्रिएको थियो । कपडाहरु अव्यवस्थित छरिएका थिए । भित्ताका केही पुस्तक र दराज मलाई नियालीरहेका थिएँ । घाँटी सुख्खा थियो । ज्यान गहुगों थियो । आँखाका चेप रसाएका थिए । सपना रहेछ । आफ्नो प्रिय मान्छे भेटिने भनेकै सपनामा रहेछ ।

सपनामा उसले भनेजस्तै उसको ‘टाईम’ मिलेको थिएन । कास उसको ‘टाईम’ मिलाउने कुरा मेरो हातमा हुदो हो त अल्पआयूमै उसले यो संसारबाट बिदा लिनु पर्थेन ।

बुढापाकाहरु भन्छन्– मरेको मान्छे सपनामा देख्यो भने पानी पर्छ रे । र, पानी प¥यो भने सपना देख्नेसँग कुनै गुनासो हुदैन रे । ढोका खोलेर बार्दलीबाट बाहिर चियाएँ । पानी त के आकाशमा एक टुक्रा बादल पनि थिएन । बरु पूर्व तर्फको क्षितिज राताम्य भएको थियो । शायद सूर्य उदाउने तरखरमा थियो । शायद ऊसको गुनासों म प्रति बाँकी थियो । त्यसैले पानी परेन । चिसो सिरेठोले शरीरमा काँडा उम्रिए । सपनाको ‘ह्याङ्गओभर’ ले पुनः जिउ लल्याकलुलुक भयो । कोठा भित्र पसें ।

राम्रा मान्छेहरुको खाँचो स्वर्गमा हुन्छ भन्छन् । शायद राम्रा मान्छेहरु बढी भएरै स्वर्ग, स्वर्ग भएको होला ।
एउटा नयाँ घर बनाउने सपना बोकेर बाँचेको तन्नेरी । त्यही घरको काठले उसको जिन्दगीको यात्रा रोकियो । त्यही घरले उसको सपना भाँचिदियो । अपुरा र अधुरा सपनाहरुको अन्त्य नै एउटा जिन्दगीको अन्त्य रहेछ ।

उसको सम्झनामा कहिलेकाँही बारेकोट पुग्छु । बारेकोट, बारेकोट जस्तो लाग्दैन । नलगाड, नलगाड जस्तो लाग्दैन । रामीडाँडा मेलाका हरेक संस्करणहरु बकवास लाग्छन् । कुशेमुशे, चाखुरे र कराईचुली आफ्नो सौन्दर्यको फगत अहंमता दर्शाइरहेका चट्टान जस्तो लाग्छन् । कहाली लागेर आउँछ । ऊ बिनाका हरेक थोकहरु व्यर्थ लाग्छन् अचेल ।

अल विदा, डियर !

अन्त्यमा, उसैले कोरेका अन्तिम हरफहरु,

कतै म दोधारमा पर्छुकि चिन्ता छ ।
खोली छोडी सागर तर्छुकी चिन्ता छ ।।

रोग, भोक, गरिबी र दुःखले सताउँछ
त्यसैले त बसाई सर्छु कि चिन्ता छ ।।

स्रोतः सुरेन्द्र सुमन

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

One thought on “एउटा सपनाको अन्त्य (संस्मरण)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top