प्रवाशी नेपालीको पीडामा मलम लगाउदै लक्ष्मण

सुरेन्द्र सिंह
देशमा लामो राजनीतिक संक्रमणले लाखौं नेपालीहरु विदेशी भूमिमा पुगेर आफ्नो पसिना बगाउन बाध्य छन् । नेपालमा रोजगारीको अभावले आर्थिक अवस्था नाजुक हुदैगएपछि रोजगारीका लागि खाडी लगायतका मुलकमा सिर्जनसिल र देशका मेरुदण्ड मानिने युवाहरु आफ्नो रगत पसिना चुहाईरहेका छन् ।
पराई देशमा पसिना चुहाउने रहर कसको हुन्छ र ? तैपनि आफ्नो गाउँ, घरपरिवार, आमाबुवा, जीवनसाथी अनि प्रिय साथीसंगी चटक्क भुलेर अर्काको देशको गुलामी गर्नु लाखौं नेपाली युवाहरुको नियती बनेको छ । राष्ट्रिय राजनीति अस्थिर हुदा देशमा रोजगारीका अवसर सिर्जना हुनसकेका छैनन् । आफैंले केही गर्न आर्थिक लगानी पनि हुनुपर्यो । त्योपनि छैन ।

विदेशमा पुगेर अर्काको माटोमा श्रम गर्दा कसको मन पोल्दैन । हरेक सच्चा नेपाली मनको आत्मसम्मानमा चोट पुग्छ । तर, पनि बाध्यता र विवशताका अगाडी मान्छे लाचार हुन्छ । आफ्नो रोजीरोटीका लागि जुनसुकै काम गर्नपनि मान्छे पछि पर्दैन । यो कटु यथार्थ हो । यद्यपी विदेशी भूमिमा काम गर्नु तल्लो स्तरको काम नभएपनि सच्चा देशभक्त नेपालीका लागि नैतिक रुपमा आफ्नो स्वाभिमानमा आँच पुग्ने कार्य भने अवश्य हो ।

laxman-rasailee
जाजरकोटको दुर्गम गाउँ डाँडागाउँ ७ का लक्ष्मण रसाईली केही वर्ष देखि खाडी मुलुक कतारमा रोजगारीका सिलसिलमा रहँदै आएका छन् । उनको खास नाम लक्षीराम विक हो । तर, सानै उमेरमा सामाजिक सेवामा लागेका उनी लक्ष्मण रसाईलीको नामले परिचित छन् । विदेशी माटोमा आफ्नो रगत पसिना बगाउने रहर लक्ष्मणलाई पनि कहाँ हो र ? ‘शिक्षा संकायबाट प्रविणता प्रमाणपत्र उतिर्ण गरेका रसाईली स्वदेशमा बसेर केही आर्थिक उपार्जनका कार्य गरुँ, घरपरिवारको साँझ विहानको रोजीरोटी टार्न सफल होउँ ।’ उनको यही सपना थियो । उनलाई लाग्थ्यो – ‘आफ्नो देशमै बसेर केही गरुँ । घरपरिवारको साथमै रहेर गाउँमा केही सानोतिनो काम गरुँ । विदेशी माटोमा गएर आफ्नो स्वाभिमान किन बेच्नु ?’

तर, मान्छेले सोचेजस्तो कहाँ हुन्छ र ? फेरि हामी जाजरकोटी राज्यबाट ठगिएका । राज्यले जाजरकोटलाई हेर्ने दृष्टिमै कमजोरी छ । ‘यहाँबसेर आफूले केही गर्न असंभव छ । घरपरिवार पाल्न भएपनि विदेश जा ।’ उनको ब्रम्हले यस्तै भन्यो । छातीमा ढुंगा राखी केही पैसा जुटाएर कतार हान्निए, उनी ।

मान्छेहरु सोच्छन्, विदेशमा पैसाको रुख हुन्छ । मात्र त्यसलाई टिप्न सक्नुपर्छ ।
तर, विदेशमा सोचेजस्तो छदै थिएन । उनले स्यानो काम त पाए, तर सन्तुष्ट हुने कुरै भएन । जबकी उनी विदेशी भूमिमा आउनु नै बाध्यता थियो । पैसाका लागि उनीले आफैलाई बेचेका थिए । आफ्नो आत्म सम्मान, स्वाभिमान सबै उनको बन्धकी थियो । केवल घरको आर्थिक विपन्नताका कारण । घरको बाध्यताका कारण । घरमा आमाबाको एकसरो नयाँ कपडाको लागि ।

उनी कम्पनीको ड्युटीमा जान्थे । तर, मन भने नेपालमा हुन्थ्यो । आफ्नो घर, साथीसंगी र पाखापखेरामा डुलीरहेको हुन्थ्यो । साथीभाईहरुसँग नलगाडमा माछा मारिरहेको सम्झना गर्थे, उनी । कहिलेकाँही अनलाईन र सामाजिक संजालमार्फत साथीभाईहरुसँग गफगाफ गर्थे । सामाजिक संजाल हेर्दै गर्दा विदेशमा नेपालीहरुले भोग्नुपरेका पीडा र दुःखका समाचारमा उनका आँखा पुग्थे । उनलाई यस्ता समाचारले साह्रै नरामाईलो लाग्थ्यो । मन दुख्थ्यो, बेचैनी हुन्थ्यो । कहिलेकाही नेपालीहरुले भोग्नुपरेका पीडाले थाहै नपाई आँखाबाट आँशु खस्थ्यो ।

14341750_299771567062785_787518686_n

उनले मनमनै संकल्प गरे – ‘अब जसरी भएपनि नेपाली साथीहरुका लागि हामी नेपालीले नै केही सहयोग गर्नुपर्छ । उनीहरुका दुःखमा नेपालीनै साथी बन्नुपर्छ ।’ उनले आफ्नो योजना आफ्ना केही नेपाली साथीहरुलाई पनि बताए । उनीहरुले पनि लक्ष्मणको योजनामा सही थापे । असल कामका लागि साथ दिने असल साथी नै हुनपर्छ भनेजस्तै ।

लक्ष्मणका साथीहरु पनि असल गुणका थिए । उनीहरुलाई पनि पीडा हुन्थ्यो, नेपालीहरुको पीडामा । र, त लक्ष्मणको योजनाले मुर्तरुप लियो । उसो त नेपालमा रहँदा पनि लक्ष्मण सानो तिनो सामाजिक सेवाका कार्यहरु पनि गर्थे । साहित्य र पत्रकारिता मार्फत आफ्नो गाउँ र जिल्लाका लागि, आफ्नो गाउँका लागि उनले कलम चलाईरहेका हुन्थे । सबै मान्छेमा मानविय गुण हुन्छ भन्ने पनि छैन । तर, मान्छेमा मानविय गुण भएमा भौगोलिक रुपमा जहाँ भएपनि, जहाँ गएपनि उक्त गुण जसरी पनि प्रस्फुटन हुदोरहेछ ।

केही नेपाली साथीहरुको सहकार्यमा लक्ष्मणले कतारमा पनि सामाजिक सेवा गर्ने उद्देश्यले जाजरकोट प्रवाश सेवा समाज गठन गरे । यद्यपी उनले संस्था गठन गर्नुपूर्व पनि समस्या र दुःखमा परेकाहरुलाई सहयोग नगरेका भने होईनन् । तर, आफूहरुले संगठीत भएर सहयोग गर्दा पीडितलाई सहयोग गर्न प्रभावकारी होस् भन्ने हेतुले यो समाज गठन गरेको उनले बताए । हालसम्म लक्ष्मणको समूहले आधा दर्जन बढी युवाहरुलाई उद्धार गरिसकेका छन् । दुःखमा परेकाहरुको उद्धार गर्दा आत्मसन्तुष्टी मिलेको लक्ष्मणको भनाई छ ।

हिजो आज लक्ष्मण आफ्नो जागिरीसँगै नेपालीहरुले कही कतै दुःख पाए कि ? कतै समस्यामा परेका छन् कि भनेर सँधै चिन्तनसिल रहन्छन् । लक्ष्मणको निस्वार्थ समाजसेवा फैलिदैं जावस् । उनमा भएको समाजसेवाको भाव सँधै जीवन्त रहोस् । शुभकामना ।
(लक्ष्मण रसाईलीसँगको कुराकानीमा आधारित)

प्रकाशितः २०७३ असोज २

तपाइको प्रतिक्रिया लेख्नुहोस ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top